पर्वत, २५ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्वतमा सबै मत परिणाम सार्वजनिक भइसकेको छ। अन्तिम मत परिणामअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारसहित १४ जना उम्मेदवारको जमानत जफत हुने भएको छ। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिनाले कूल सदर मतको १० प्रतिशत कटाउन नसक्नुभएको हो।
शर्माले चार हजार ५५७ मत ल्याउनुभयो। जिल्लामा प्रत्यक्षतर्फ कूल ६५ हजार ३७९ मतमध्ये कूल सदर मत ६३ हजार २०३ मतको १० प्रतिशत तिमिल्सिनाले कटाउन सक्नुभएन। उहाँले छ हजार ३२० मत ल्याउनुपर्ने थियो। पर्वतमा दुई हजार एक सय ७६ मत बदर भएका थिए। तिमिल्सिनाले जिल्लामा बाँदर नियन्त्रणदेखि विकास निर्माणको समग्र खाका लिएर मतदाता सामु पुगे जिल्लामा चौथो स्थान प्राप्त गनुभएको छ।
राप्रपा उम्मेदवार दुर्गाबहादुर मल्लले ५२५, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार ऐलिना सुवालले सात, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्णबहादुर विकले ११८, आम जनता पार्टीकी पवित्रा मल्लले पाँच, राष्ट्रिय जनमोर्चाका उम्मेदवार भिमलाल न्यौपानेले ८७ मत पाउनुभएको छ।
राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाइजा पुन फकामी मगरले १९ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार यामबहादुर चोचांगी पुनले १२२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीकी उम्मेदवार लालकुमारी थापा रानाले ४१, नेशनल रिपब्लिक नेपालका उम्मेदवार वीरबहादुर गुरुङले ९८ मत पाउनुभएको छ।
स्वतन्त्रबाट उम्मेदवार बनेका सीतादेवी शर्माले आठ, सावित्री शर्माले तीन, मिना पौडेल शर्माले आठ र गङ्गालाल रिमालले पाँच मत पाउनुभएको हो। निर्वाचनमा होमिएका १७ जना उम्मेदवारमध्ये तीन वटा राजनीतिक दलको मात्र जमानत जोगिएको हो।
पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले २६ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ र नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरी तेस्रो हुनुभएको थियो। उम्मेदवारी दर्ताका लागि पुरुषको हकमा रु दश हजार र महिलाको हकमा रु पाँच हजार धरौटी तिर्नुपर्ने प्रावधान रहेको छ ।