चितवन, २५ फागुन
प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन्। उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन्। जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा लिएका छन्।
भरतपुर महानगरपालिका–१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउनुहुन्छ। युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो,“अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ।” यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न नसकिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो,“जेनजी आन्दोलन पछिको निर्वाचनले देशवासीलाई विश्वस्त बनाउनुपर्ने छ।” अहिले देशमा सुशासन कायम गदैं भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारीको वातारवरण सिर्जना गर्न अवश्यक रहेको उहाँले बताउनुभयो।
प्यूठानबाट उपचारका लागि बिरामी लिएर चितवन आउनु भएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले परिवर्तन गर्न आवश्यक रहेको बताउनुहुन्छ। उहाँका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न सकेन भने अहिलेको परिवर्तनसमेत खेरा जाने चिन्ता उहाँमा छ । जेनजी आन्दोलन पछि बन्न लागेको सरकारमा जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता हुन आवश्यक रहेको उहाँले बताउनुभयो।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी प्रवास पराजुली अब सुशासनको प्रत्याभूति हुन आवश्यक रहेको बताउनुहुन्छ। उहाँले भन्नुभयो “अब बन्ने सरकारले भ्रष्ट्राचार नियन्त्रण र सुुशासनको पक्षमा कसरी काम गर्छ भन्ने हेर्ने समय आएको बताउनुभयो।” उहाँले भन्नुभयो “वैदेशीक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र नेपालका उद्योग कल कारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै देशको आर्थिक संवृद्धिमा लाग्न आवश्यक छ।”
भरतपुर महानगरपालिका–१४ निवासी रचना दाहाल अहिलेको परिवर्तनलाई कमजोर सोच्न नहुने बताउनुहुन्छ। उहाँले भन्नुभयो “यो परिवर्तनलाई कमजोर सोच्ने हो भने फेरि अर्को विद्रोह हुनसक्छ। यो परिवर्तनलाई आत्मसाथ गर्दै देश र जनताको पक्षमा काम गर्न अब बन्ने सरकार लाग्नुपर्छ।” जनताले परिवर्तनको पक्षमा देखाएको मत खेरा जान दिने छुट कसैमा नभएको भन्दै उहाँले भ्रष्ट्राचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मूलमर्म मान्न आग्रह गर्नुभयो।
युवाहरुले अब बन्ने सरकारले पाएको मत अनुसार देशलाई अगाडि बढाउनेमा ढुक्क छन्। अन्य दलहरुले सरकारलाई निगरानीमा राखेर काम गर्न दिनुपर्नेमा उनीहरुको जोड छ। शिक्षा र रोजगारीका लागि युवा शक्ति विदेश जानबाट रोकेर यही पढ्ने र काम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा धेरैको जोड छ।
सरोकारवाला नियकायसँग छलफल गरी जनताको निराशालाई आशामा बदल्न उनीहरुले सुझाएका छन्। रासस