लुम्बिनी, १५ फागुन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विशेष गरी पार्टीका नेता कार्यकर्ताहरूसँग रिसाएका नवयुवाका कुरा गम्भीरतापूर्वक सुन्न आग्रह गर्नुभयो।
सभापति थापाले भन्नुभयो, “नवयुवा रिसाएका छन्, उनीहरूसँग राम्रोसँग छलफल गर्नुस्। कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुरालाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ सङ्कल्प गरेर आएको कुरा आममतदाता र नवयुवालाई बताउनुस्।”
उहाँले पार्टीले पाँच वर्षभित्र परिणाम दिने सङ्कल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएकाले त्यसअनुसार देशलाई सम्हालेर अगाडि बढ्ने धारणा राख्नुभयो। सभापति थापाले देशभित्रका समस्या मात्रै नभई भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान कांग्रेसको जित आवश्यक रहेको बताउनुभयो।
“हामी अबको पाँच वर्ष खेर जान दिने छैनौँ। त्यसका लागि म असल बाँकी रहेका सबै खराब भन्ने मनोवृत्तिबाट बाहिर आउनुपर्छ। देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जाने गरी कसैले पनि सोच्नु हुँदैन। त्यस्तो सोचबारे सजग हुनुपर्छ”, उहाँले भन्नुभयो।
सभापति थापाले कांग्रेसले प्रतिज्ञापत्रमा लेखिएका विषयमा काम गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि सबैको सहमति लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “संविधान संशोधन गर्न प्रतिनिधिसभा मात्र भएर हुँदैन, राष्ट्रियसभा पनि चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यो संविधान संशोधन गर्न एमाले, माओवादी, रास्वपा, अन्य नयाँ पार्टी सबैको सहमति चाहिन्छ, अनि म एक्लै चलाउँछु, एक्लै गर्छुभन्दा देश दुर्घटनामा जानसक्छ। एक्लै गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ।”
कांग्रेसले रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा बुटवलमा चुनावीसभा आयोजना गरेको हो। सभामा पार्टी उपसभापति पुष्पा भुसालसँगै कांग्रेस नेता बालकृष्ण खाँणलगायत नेता पनि उपस्थिति हुनुहुन्थ्यो। रासस