क्यानबेरा, १ फागुन
अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा उल्लेखनीय वृद्धि भएको अध्ययनले देखाएको छ। अध्ययनअनुसार उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूले अत्यधिक भावनात्मक थकान, मानसिक तनाव र सुरक्षा जोखिमको सामना गरिरहेका छन्।
अष्ट्रेलियन अनुसन्धान परिषद्को आर्थिक सहयोगमा गरिएको सर्वेक्षणमा सहभागी ८० प्रतिशतभन्दा बढी कर्मचारीले आफू अत्यधिक मानसिक थकानमा रहेको बताएका छन्।
मूल्याङ्कन गरिएका ३६ विश्वविद्यालयमध्ये सबैमा अत्यन्त उच्च मनोसामाजिक जोखिम पाइएको छ, जुन सामान्य कार्यक्षेत्रको तुलनामा दोब्बरभन्दा बढी हो। विशेषगरी चाल्र्स डार्विन विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय र क्वीन्सल्याण्ड विश्वविद्यालयमा जोखिमको स्तर सबैभन्दा उच्च रहेको अध्ययनले देखाएको छ।
मुख्य अनुसन्धानकर्ताले कर्मचारीहरूको मानसिक स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। उत्पादनमुखी व्यवस्थापन प्रणालीको सट्टा कर्मचारी कल्याणमुखी व्यवस्थापन पद्धति अपनाउनुपर्ने सुझाव दिइएको छ।
यसका साथै, अष्ट्रेलियाको कार्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कानुनअनुसार विश्वविद्यालयहरूले मनोसामाजिक जोखिमको रोकथाम र उचित व्यवस्थापन गर्न अनिवार्य जिम्मेवारी राख्छन्। अध्ययनले यस विषयमा विश्वविद्यालय स्तरमा नीति सुधार, व्यवस्थापन सुधार र सुरक्षित कार्यस्थल सुनिश्चित गर्न आवश्यक कदम चाल्न जोड दिएको छ, ताकि कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षा सुनिश्चित गर्न सकियोस्। (रासस/सिन्ह्वा)