पर्वत, २० माघ
प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ। राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन्।
निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ। मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ। पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। ७६ मतदानस्थलमध्ये ३५ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था गरिने बताउनुभयो। मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो। उहाँका अनुसार प्रदेशभरिमा ३२८ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकामा पर्वतमा ३५ वटा परेका हुन्।
चुनावमा जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गर्ने गरिएको छ। जेलबाट भागेका कैदीबन्दी, फिर्ता नआएका हतियार, विकट भौगोलिक अवस्था, चुनावमा हुनसक्ने विवाद, दहरुबीच हुनसक्ने झगडा र विगतका अवस्थालाई मूल्याङ्कन गरी मुख्य चुनौती मान्ने गरिएको छ।
यहाँ निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो। म्यादी प्रहरीलाई तालिम र कर्मचारी तथा शिक्षकबाट निर्वाचनमा खटिने जनशक्ति तयारीमा लागेको उहाँले बताउनुभयो।
आगामी निर्वाचनका लागि पर्वतमा १३ राजनीतिक दलबाट १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। त्यसमध्ये शीर्ष चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धि दल हुन्। सबै राजनीतिक दलहरुले गाउँ केन्द्रित चुनावी अभियानलाई अघि बढाएका छन्।
आगामी निर्वाचनका लागि यहाँ एक लाख २५ हजार ४६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन्।