मुस्ताङ,१४ माघ
मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न स्थानमा भारी हिमपात भएको छ। डाँडाकाँडा पूरै सेताम्मे बनेका छन् भने अधिकांश क्षेत्रमा वर्षासमेत भएको छ।
भारी हिमपातका कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिमपातसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली राम्रो हुने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो।

त्यसैगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडक खण्ड अवरुद्ध भएका छन्।

यसैबीच, बाजुराका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका उच्च भेगमा पनि बाक्लो हिमपात भएको छ।

हिमपातका कारण हिमाली गाउँपालिकाका विच्छ्या र रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट तथा बुढीनन्दाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ।

