काठमाडौं,१३ माघ
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दा १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।
प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको जानकारी दिँदै अधिकांश स्थानमा फिर्ता भइसकेको बताउनुभयो। जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, त्यहाँ पार्टीले औपचारिक निर्देशन दिएको र धेरै ठाउँमा समस्या समाधान भइसकेको उहाँको भनाइ छ।
उहाँका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै उहाँले पार्टीले आन्तरिक अनुशासन सुदृढ बनाउन छुट्टै आन्तरिक आचारसंहिता पनि जारी गरेको बताउनुभयो।
पार्टीको एकता र अनुशासनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो।
यसपटक कांग्रेसले प्रचार–प्रसारमा डिजिटल क्याम्पेनिङलाई विशेष प्राथमिकता दिने रणनीति बनाएको पनि प्रवक्ता चालिसेले जानकारी दिनुभयो। सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने गरी प्रचार अभियान अघि बढाइने उहाँले बताउनुभयो।
प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्साह थपेको दाबी गर्दै अन्य दलका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम जारी रहेको पनि जानकारी दिनुभयो। कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको उहाँले स्पष्ट पार्नुभयो।