रुकुम पूर्व, ७ माघ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वका जनताको भावना र समृद्धिको आकाङ्क्षाअनुसार आफू यही जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेको स्पष्ट गर्नुभएको छ।
प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक दाहालले रुकुम पूर्वको इतिहास, भूगोल, संस्कृति र जातीय विविधतालाई आत्मसात् गर्ने समावेशी विकास मोडेल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“जनयुद्धको आधार क्षेत्रको रूपमा परिचित रुकुम पूर्वको विकासलाई अब नयाँ ढङ्गले गति दिन चाहन्छु,” उहाँले भन्नुभयो, “यहाँका जनताको भावना र अपेक्षा बुझेर नै मैले यहीँबाट उम्मेदवारी दर्ता गराएको हुँ। भौतिक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको सुधार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन मेरा प्रमुख प्राथमिकता हुनेछन्।”
राजनीतिक परिवर्तनसँगै विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयोजक दाहालले समाजवादको आधारशिला रुकुम पूर्वबाटै राखिने विश्वास व्यक्त गर्नुभयो। उहाँले राजनीतिक मात्र होइन, विकासको दृष्टिकोणबाट पनि रुकुम पूर्वलाई समाजवादी क्रान्तिको आधार इलाकाका रूपमा स्थापित गर्ने उद्घोष गर्नुभयो।
संयोजक दाहालले आजै सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग प्रत्यक्ष अन्तक्र्रिया गर्दै उनीहरूको सुझाव र अपेक्षा सुन्नुभएको थियो।