काठमाडौँ, ६ माघ
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्रक्रियामा देखिएको व्यापक उत्साहले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा प्रवाह भएको बताउनुभएको छ।
आज (मंगलबार) एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था अन्त्य भइसकेको र सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गर्नुभयो। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनतर्फ अग्रसर हुँदै अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएको उहाँको भनाइ छ।
निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति प्रधानमन्त्री कार्कीले आभार व्यक्त गर्नुभएको छ। साथै, निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामर्थ्यका साथ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
रक्षा व्यवस्थामा कुनै पनि प्रकारको सम्झौता नगरिने र सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता तथा व्यावसायिक मनोबलका साथ परिचालित रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो।
१६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता हुनु लोकतान्त्रिक मूल्य र प्रक्रियाप्रति जनताको प्रगाढ विश्वासको प्रमाण भएको उहाँको भनाइ छ। आज देखिएको उत्साहले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम रहेको पुष्टि गरेको पनि उहाँले उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले दीगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई निर्वाचन प्रक्रियामा सक्रिय, संयमित र जिम्मेवार सहभागिता जनाउन अपिलसमेत गर्नुभएको छ।