काठमाडौँ, ६ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सुरु गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयहरूमा आज उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम तय गरिएको छ।
कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा तोकिएको छ। क्षेत्र नम्बर २ का लागि कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालय गोकर्णेश्वर नगरपालिका–४ को वडा कार्यालयमा रहेको छ भने क्षेत्र नम्बर ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन, चपलीमा सञ्चालनमा ल्याइएको छ।
यसैगरी, काठमाडौँ क्षेत्र नम्बर ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन र क्षेत्र नम्बर ६ का लागि तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ७ को निर्वाचन कार्यालय खुसिबु बालाजुस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र ९जुडो हल० मा रहेको छ। क्षेत्र नम्बर ८ का लागि नागार्जुन नगरपालिकाको नगरपालिका भवन र क्षेत्र नम्बर ९ का लागि चन्द्रागिरि नगरपालिकाको भवनमा निर्वाचन कार्यालय सञ्चालनमा छन्।
त्यस्तै, काठमाडौँ क्षेत्र नम्बर १० को निर्वाचन कार्यालय कीर्तिपुर नगरपालिका–२ स्थित बाघभैरव भवनमा स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुर र भक्तपुर जिल्लामा समेत पायक पर्ने स्थानमा निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आइसकेका छन्।