काठमाडौँ, ५ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई मजबुत बनाउन प्रदेश संरचनालाई सशक्त बनाउनु अपरिहार्य रहेको बताउनुभएको छ।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हिजो जनकपुर पुगेका नेता शाहले आज आयोजित परिवर्तन उद्घोष सभामा सम्बोधन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाइएन भने सङ्घीयताको मर्म पूरा नहुने उल्लेख गर्नुभयो।
रास्वपाको सङ्घीयताप्रतिको दृष्टिकोणबारे काठमाडौँमा बारम्बार प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नसमेत काठमाडौँ धाउनुपर्ने अवस्थाले प्रदेश कमजोर भएको संकेत गर्ने बताउनुभयो। “प्रदेश बलियो तब मात्रै हुन्छ, जब साना–साना प्रशासनिक निर्णयका लागि पनि काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य हुन्छ,” उहाँले भन्नुभयो।
शाहले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “काठमाडौँ अधिकार माग्न होइन, पशुपति र स्वयम्भूनाथ दर्शन गर्न जाने ठाउँ हो।”
रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहसहित पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा रास्वपाले मधेश केन्द्रित सभा आयोजना गरेको हो।
सभामा आक्रामक सम्बोधन गरेका रास्वपा नेता अमरेशकुमार सिंहले मधेशी समुदायलाई अब प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गर्नुभयो। यसअघि स्वतन्त्र सांसद रहनुभएका सिंह आजै रास्वपामा प्रवेश गर्नुभएको हो।