काठमाडौँ, ४ माघ
नेपाली कांग्रेसले विभिन्न कारणले निष्क्रिय रहेका तथा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा सहभागी हुन आह्वान गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा शनिबार बानेश्वरमा बसेको बैठकले पूर्व कांग्रेसीहरूलाई पार्टीमा पुनः जोडिन हार्दिक अपिल गर्ने निर्णय गरेको हो।
त्यसैगरी, बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालगायतका नेताहरूले नेपाली कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै हार्दिक धन्यवाद व्यक्त गरेको छ। बैठकले निवर्तमान सभापति देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको छ।
बैठकले अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। कांग्रेस सधैं मूल्य र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा गर्ने र समृद्ध नेपालको नेतृत्व गर्ने निर्णय बैठकले गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरूः
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित–हार होइन, यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रीय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ।
३. विभिन्न कारणले पार्टीबाट निष्कृय रहनुभएका, विभिन्न कारणले पार्टी छाड्नुभएका सबै साथीहरूलाई पार्टीमा पुनः जोडिन यो बैठक हार्दिकतापूर्वक आव्हान गर्दछ।
४. यतिबेला हामी निवर्तमान सभापति शेरबहादुर देउवालगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो वैठक श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ।
५. नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुनेछैन। हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौं। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौं। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौं।
६. यो नयाँ अध्याय हो रुपान्तरणको, एकताको, विजयको। सबैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सबैमा अनुरोध छ।