जनकपुरधाम, ३० पुस
गृहमन्त्री ओमप्रकाश अर्याल ले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय नेतृत्वको अभावमा गैरदलीय नागरिक सरकार गठन भएको र यसको मुख्य जिम्मेवारी भनेको देशमा सुशासन कायम गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पार्नुभएको छ।
मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा बुधबार राजधानी जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री अर्यालले वर्तमान सरकार भदौ २३–२४ गतेको घटनापछि बनेको र तत्कालीन दलीय सहमतिमा प्रधानमन्त्रीको नेतृत्वमा संचालनमा रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “नागरिक सरकार भएकाले पनि जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ, र यस सरकारले निष्ठा र इमानदारीबाट कुनै कदम पछि हटाउँदैन।”
विशेष अतिथिको रूपमा उद्घाटन मन्तव्य राख्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्था, आगामी निर्वाचनका लागि सुरक्षा रणनीति र निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री यादवले तराईका केही क्षेत्रमा देखिन थालेको धार्मिक–सांस्कृतिक विवाद, जेनजी आन्दोलनपश्चात भौतिक पूर्वाधारमा भएको क्षति, लुटिएका हतियार र फरार कैदी–बन्दीसहितका सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गर्ने र समान धारणा बनाउने बताए। उहाँले प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, “प्रदेशको प्रहरी नभएको जस्तो नकारात्मक धारणा हटाउनुपर्ने”मा जोड दिनुभयो।
मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतो ले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, समन्वय अभावले सुरक्षा चुनौती थपिएको र जिल्ला, प्रदेश तथा सशस्त्र प्रहरीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
मन्त्री महतोले आजको गोष्ठीले सुरक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।