काठमाडौँ, २८ पुस
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले यसको कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने स्पष्ट गर्नुभएको छ।
आजदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका लागि निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आचारसंहिता कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिनुभयो। उम्मेदवारहरूले अरूले आचारसंहिता उल्लङ्घन गरे भन्दै आफूले पनि पालना नगर्ने प्रवृत्ति देखिएकाले त्यसप्रति मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कडाइका साथ अनुगमन गर्ने जनाउँदै भण्डारीले २०७९ सालअघिको जस्तो आचारसंहिता उल्लङ्घनमा छुट दिने अभ्यास अब नहुने बताउनुभयो। निर्वाचन आयोगको काँधमा निष्पक्ष र सफल निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेकाले यसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको पनि सामूहिक दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो।
निर्वाचन विथोल्ने कुनै पनि गतिविधिलाई छुट दिन नहुनेमा जोड दिँदै उहाँले निर्वाचन पर्यवेक्षकहरूको गतिविधिसमेत निगरानीमा राख्न निर्देशन दिनुभयो । विगतमा आचारसंहिता विपरीत गतिविधि गरेपछि पर्यवेक्षकको अनुमति खारेज गरी देश निकाला गरिएको उदाहरण दिँदै, यस्ता कार्य भएमा कारबाही गरी आयोगलाई जानकारी गराउन आग्रह गर्नुभयो।
कानुनको गलत व्याख्या गर्ने, प्रक्रिया उल्लङ्घन गर्ने र नियम विपरीत काम गर्नेलाई छुट नदिने स्पष्ट पार्दै भण्डारीले उजुरीहरू समयमै टुंग्याउनुपर्नेमा जोड दिनुभयो। भङ्ग भएको अनुशासनलाई लयमा ल्याई शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउनु सबैको साझा जिम्मेवारी भएको उहाँले बताउनुभयो।
हाल माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने ११० र प्रत्यक्ष निर्वाचित १६५ सदस्यसम्बन्धी काम एकैसाथ अघि बढिरहेको आयोगले जनाएको छ। माघ २० गते समानुपातिकतर्फको बन्दसूची अन्तिम गरी नाम सार्वजनिक गरिने बताइएको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले अभिमुखीकरण कार्यक्रममा चार समूह बनाएर छलफल गरिने जानकारी दिनुभयो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी करिब १२० जनाको सहभागिता रहेको छ।
यसैगरी, आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई ले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न अभिमुखीकरण कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनलाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।