काठमाडौं,२५ पुस
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किरहेका बेला राष्ट्रिय सभा निर्वाचनको टिकट बाँडफाँटलाई लिएर पार्टीभित्रको विवाद थप गहिरिएको छ। सभापति शेरबहादुर देउवाले टिकट वितरणमा एकलौटी निर्णय गरेको आरोपपछि पार्टीभित्र शक्ति सन्तुलनसमेत फेरिएको देखिएको छ।
विशेष महाधिवेशनको माग गर्दै आएको महामन्त्री गगन थापा समूहमाथि मंगलबारसम्म दबाब बनाइरहेको देउवा समूह बुधबार राष्ट्रिय सभा टिकट बाँडफाँटमा सन्तुलन गुमाएको आरोप लागेको छ। विधि र विधान मिचेर एकपक्षीय रूपमा टिकट बाँडिएको भन्दै असन्तुष्टि बढेपछि थापा समूह अचानक शक्तिशाली रूपमा उदाएको नेताहरूको बुझाइ छ।
यसअघि पाँच प्रदेश देउवा पक्षमा रहेको र गगन थापा समूहसँग लुम्बिनी प्रदेश मात्र रहेको मानिन्थ्यो। गण्डकी प्रदेश भने सैद्धान्तिक स्पष्टता नआएसम्म कुनै समूहमा नढल्किने भन्दै निरपेक्ष अवस्थामा थियो। विशेष महाधिवेशनको भविष्य गण्डकी प्रदेशको भूमिकाले निर्णायक हुने चर्चा चलिरहेको थियो।
तर बुधबार परिस्थितिमा नाटकीय मोड आयो। राष्ट्रिय सभा टिकट बाँडफाँटमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासँग समन्वय गर्ने आश्वासन दिइए पनि अचानक प्राध्यापक जगत तिमिल्सिनाको नाम सिफारिस भएको खबर आएपछि शर्मा आक्रोशित बने। उनले लामो समयदेखि क्रियाशील नेता–कार्यकर्ताहरू हुँदाहुँदै सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै खुलेर असन्तुष्टि जनाए। त्यसक्रममा उनले सभापति देउवामाथि कडा टिप्पणीसमेत गरे।
स्रोतका अनुसार यस घटनामा राष्ट्रपति रामचन्द्र पौडेलसमेत संलग्न रहेको आरोपसमेत उठाइएको छ। ‘राजा सहितको प्रजातन्त्र’को वकालत गर्दै आएका शर्मालाई केन्द्रीय राजनीतिमा अघि बढ्न नदिन पुरानै रणनीतिअन्तर्गत टिकट वितरण गरिएको दाबी उनीनिकट नेताहरूको छ।
गण्डकी प्रदेश निर्णायक हुने बुझाइका साथ महामन्त्री गगन थापाले पनि सार्वजनिक रूपमा टिकट बाँडफाँटप्रति असहमति जनाएपछि गण्डकी प्रदेश विशेष महाधिवेशन र पार्टी रूपान्तरणको पक्षमा उभिएको बताइएको छ। तर त्यसका लागि कांग्रेसले आफ्नो ‘विरासत’मा फर्किनुपर्ने सर्त अघि सारिएको छ।
सभापति शर्मा आफू विशेष महाधिवेशनको पक्षमा उभिएको स्पष्ट पार्दै पार्टीलाई सिद्धान्त र विरासतमा फर्काउने एजेण्डासहित विशेष महाधिवेशन अपरिहार्य भएको बताउँछन्। बिहीबार पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा उनले योगदान गरेका इमानदार कार्यकर्तामाथि अपमान भएको र अब ऐजेण्डाविहीन महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरे।
उनले कांग्रेसको विरासत राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संवैधानिक राजसंस्थासँग जोडिएको दाबी गर्दै राजसंस्थालाई पूर्ण रूपमा बाहिर राख्दा प्रतिक्रियावादी शक्तिले खेल्ने ठाउँ पाउने चेतावनी दिए। “जनतासँग शासनसत्ताको अधिकार रहँदै राजसंस्थालाई संवैधानिक रूपमा सम्मानसहित राख्न सकियो भने देशलाई संकटबाट मुक्त गर्न सकिन्छ,” शर्माको भनाइ छ।
यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व शैली र पार्टीको वैचारिक दिशालाई लिएर बहस झन् तीव्र बनेको छ।