काठमाडौं, २३ पुस
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सानेपास्थित पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिमाथि हिजो भएको व्यवहार आपत्तिजनक र गलत भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले विधि र प्रक्रियाभन्दा बाहिर जाने कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले घटनाका सन्दर्भमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा व्यक्त गरेको धारणासँग आफू सहमत रहेको उल्लेख गर्नुभएको छ।
असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्ने र फरक मत राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने उल्लेख गर्दै थापाले फरक विचारका कारण कुनै व्यक्तिमाथि दुर्व्यवहार हुनु झनै निन्दनीय हुने बताउनुभयो। कांग्रेस परिवर्तन चाहने पार्टी भए पनि परिवर्तनका लागि विधि, विधान र प्रक्रिया नै एकमात्र मार्ग हुने उहाँले स्पष्ट पार्नुभयो।
महामन्त्री थापाले पार्टीभित्र देखिने असहमतिका विषयहरू पनि स्थापित प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै समग्र नेपाली कांग्रेसका शुभेच्छुकहरूलाई प्रक्रियामै विश्वास गर्न आग्रह गर्नुभएको छ।
उहाँले लेख्नुभएको सन्देश, आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधि प्रति भएको व्यवहार गलत छ। यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ।
असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’मा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।
म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।