काठमाडौं,२२ पुस
नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रत्येक प्रदेशमा १–१ जना उम्मेदवार रहनेगरी कांग्रेससँग सहकार्य गर्ने विषयमा छलफल गरेको हो। एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार गठबन्धनका सिट टुंगो लगाउने तथा उम्मेदवार छनोट गर्ने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।
कांग्रेससँगको छलफल अझै निष्कर्षमा नपुगेकाले थप संवादका लागि अध्यक्ष ओलीलाई जिम्मेवारी दिने निर्णय गरिएको उपमहासचिव भट्टले जानकारी दिनुभयो। साथै बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि विभिन्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। उक्त समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञावली र विष्णु रिमाल सदस्य रहने छन्।
यसैगरी, एमाले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन्।
बैठकले निर्वाचनसम्बन्धी कार्यका लागि पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ। नवनिर्वाचित युवा केन्द्रीय सदस्यहरूलाई समेत निर्वाचन अभियानमा परिचालन गरिने भट्टले जानकारी दिनुभयो।
प्रदेशगत रूपमा निर्वाचन संयोजकको जिम्मेवारी तोकिएको छ। जसअनुसार कोशीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, काठमाडौं उपत्यकामा डा। राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ। साथै संगठन विभागको संयोजक भानुभक्त ढकाल, प्रचार विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी तोकिएको छ।
बैठकले रिक्त रहेका जिल्ला इन्चार्ज तथा संयोजक पदमा पनि आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो।