काठमाडौँ, १७ पुस
मुस्ताङमा बाह्य पर्यटकको आगमन सङ्ख्या बढेको छ। सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४ सय ३ जना बाह्य पर्यटकको सङ्ख्या बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ।
सन् २०२५ मा समग्रमा अघिल्लो वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन बढेको हो। जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म कूल एक लाख ६१ हजार १ सय २२ जना बाह्य पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७ सय १९ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।
गएको वर्ष त्यहाँ जाने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८ सय ४७ र अन्य देशबाट २८ हजार २ सय ७५ जना रहेका छन्। त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५ सय ४९ र अन्य देशबाट २६ हजार १ सय ७० जना बाह्य पर्यटक यहाँ आएको तथ्याङ्क छ।
एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २ सय ९८ र अन्य देशबाट दुई हजार १ सय ५ जना विदेशी पर्यटकको सङ्ख्या बढेको हो। यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य देशतर्फ ७ दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या बढेको हो।
हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ। यद्यपि, गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको बाह्य पर्यटकको सङ्ख्या बढ्न नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ।
सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो।
युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६ सय ३८, अक्टोबरमा ८ सय ५४ र नोभेम्बरमा ७० जना बाह्य पर्यटक घटेका जनाइएको छ। रासस