काठमाडौँ,१६ पुस
कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसियसन काठमाडौंलाई कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी मेसिन तथा स्मार्ट डिस्प्ले बोर्डलगायतका सामग्री हस्तान्तरण गरेको छ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा बार एशोसियसनको भवनमा आगलागी भई ठूलो क्षति पुगेपछि सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सो अवस्थालाई सहज र प्रभावकारी बनाउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत सहयोग प्रदान गरेको हो।
बुधबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेड ले नेपाल बार एशोसियसन काठमाडौं लाई आवश्यक सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ। यस सहयोगले बार एशोसियसनको दैनिक प्रशासनिक तथा न्यायिक कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाईं, विभागीय प्रमुखद्वय निर्मलराज कोइराला र बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल तथा वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्माको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपाल बार एशोसियसन काठमाडौंका तर्फबाट अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा।डा। विजयप्रसाद मिश्र, उपाध्यक्षद्वय अधिवक्ता सरस्वती श्रेष्ठ र तेजबहादुर रावल, महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, पूर्व अध्यक्ष हरिहर दाहाल र प्रेमबहादुर खड्कासहित वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा बारका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अधिवक्ता अम्मरबहादुर राउतले गर्नुभएको थियो।
कृषि विकास बैंक लिमिटेडले यसअघि पनि भदौ २४ गतेको आन्दोलनबाट प्रभावित भई क्षतिग्रस्त सेवा तथा संरचना पुनः सञ्चालनका लागि काठमाडौं जिल्ला अदालत, कीर्तिपुर नगरपालिका, प्रहरी बिट सातदोबाटोलगायत विभिन्न सरकारी निकायलाई यस्तै प्रकृतिका सहयोग प्रदान गर्दै आएको छ।
बैंकले सामाजिक उत्तरदायित्वलाई संस्थागत प्राथमिकतामा राख्दै भविष्यमा पनि सार्वजनिक हितका कार्यमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।