काठमाडौँ, १५ पुस
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवम् बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि बिरामी उहाँको आज बिहान उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
एक महिनाभन्दा लामो अवधिदेखि अस्पताल भर्ना हुनुभएकी जियाको विगत २० दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो। केही वर्षयता उहाँ छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो। उहाँको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका समाचार संस्था अलजजिराले जनाएको छ।
सन् १९४५ मा जन्मिएकी उहाँ सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बङ्गलादेशको प्रधानमन्त्री बन्नुभएकी जिया पूर्व राष्ट्रपति जिया–उर–रहमानकी धर्मपत्नी हुनुहुन्थ्यो। उहाँ बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री हुनुभएको थियो।
उहाँका जेठा छोरा तारिक रहमान बेलायतबाट हालै स्वदेश फर्किनुभएको छ। कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयघातबाट निधन भएको थियो।
जियाको निधनसँगै बङ्गलादेशले एक प्रभावशाली राजनीतिज्ञ गुमाएको भन्दै दुःख व्यक्त गरिएको छ।
सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएकी जियालाई विदेशमा उपचार गर्न पनि अनुमति थिएन। उहाँ गएको वर्ष रिहा हुनुभएको थियो।एजेन्सी