काठमाडौँ, १३ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ।
आइतबार दुवै नेताबीच सात बुँदे सम्झौतामा हस्ताक्षर गर्दै एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गरिएको हो। सम्झौताअनुसार लामिछाने पार्टीका केन्द्रीय सभापति रहनेछन् भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने उल्लेख छ।
एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र चुनाव चिह्न ‘घण्टी’ यथावत् रहने सहमति भएको छ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक व्यवस्थाभित्र सुशासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन—विशेषगरी भदौ २३ र २४ का ‘जेन–जी’ आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाइने जनाइएको छ।
बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने सहमति पनि भएको छ।
यसैगरी, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’मा गोलबद्ध भई अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूसँग सहकार्यका लागि आह्वान गर्ने निर्णय गरिएको छ।
