काठमाडौँ,६ पुस
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गर्नुभएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो।
सभामुख घिमिरेले कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक विकासमा सहकार्य विस्तार तथा दुवै देशका संसद्हरूबीच सम्बन्ध मजबुत बनाउन उहाँले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो।
भेटका क्रममा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजित विभिन्न कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताउनुभयो।
नेपाल र चीन असल छिमेकी, घनिष्ट मित्र र भरपर्दो साझेदार रहँदै आएको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पार्नुभयो। साथै, नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपाली भूमिबाट चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गर्नुभयो। नेपाल–चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख पनि गर्नुभयो।
सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति आभार व्यक्त गर्दै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ ९बीआरआई० सम्झौताअन्तर्गतका तथा अन्य विकास सहायता परियोजना यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताउँदै आफ्नो कार्यकालमा सन् २०२० मा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभयो।
उहाँले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको उल्लेख गर्नुभयो। केही दिनअघि सम्पन्न नेपाल–चीन आर्थिक सहकार्य तथा लगानीसम्बन्धी कार्यशालाको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी पनि राजदूत सोङले दिनुभयो।