काठमाडौँ, ४ पुस
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा एमालेको काँधमा असाधारण जिम्मेवारी आएको उल्लेख गर्दै त्यसलाई निष्ठा, एकता र उत्साहका साथ पूरा गर्नुपर्ने बताउनुभएको छ।
११औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नव–निर्वाचित केन्द्रीय कमिटीले पार्टी र देशप्रति जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष ओलीले एमालेको ११औँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको उल्लेख गर्दै सबै दृष्टिकोणबाट सफल महाधिवेशन भएको दाबी गर्नुभयो। उहाँले पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन सबै सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।
“हाम्रो आवाज एउटै हुनुपर्छ। दोस्रो विधान महाधिवेशनले पारित गरेको नीति अनुसार हामी ताल मिलाएर अघि बढ्नेछौँ, बेताल र बेसुरमा होइन,” अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले पार्टीभित्र देखिने असन्तुष्टि नेतृत्वसमक्ष मौखिक वा लिखित रूपमा पेस गर्न निर्देशन दिनुभयो। पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चारमाध्यममार्फत व्यक्त नगर्न नेताहरूलाई आग्रह गर्नुभयो।
सामाजिक प्राणीका रूपमा अनुशासन अपरिहार्य रहेको स्मरण गराउँदै अध्यक्ष ओलीले उन्नत समाज निर्माणमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। एमालेजस्तो अग्रणी राजनीतिक पार्टीभित्र अझ सुदृढ अनुशासन आवश्यक रहेको उल्लेख गर्दै पार्टी अनुशासनहीन गतिविधिमा संलग्न नहुने स्पष्ट पार्नुभयो।
सामूहिक हितभन्दा माथि निजी स्वार्थ राख्न नमिल्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका सबै बैठक अनुशासित र मर्यादित ढङ्गले सञ्चालन हुने स्पष्ट पार्नुभयो।
एमालेविरुद्ध विभिन्न भ्रम फैलाइँदै आएको भन्दै उहाँले यस्ता गतिविधिबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्नुभयो। अब पार्टीभित्र कुनै गुट वा प्यानल नरहेको र एमाले एक ढिक्का भएर अघि बढ्ने उहाँको भनाइ थियो।
देश हाल अप्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई समाधानतर्फ डोर्याउने जिम्मेवारी एमालेले लिने बताउनुभयो। लोकतन्त्र र गणतन्त्रविरुद्ध हिंसा, तोडफोड र आगजनीका गतिविधि भइरहेको भन्दै त्यसविरुद्ध एमाले अझ सक्रिय र गतिशील भएर अघि बढ्ने स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले सहरदेखि गाउँसम्म टोल–टोलमा सुरक्षा समिति गठन गरी स्थानीय तहमा सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक रहेकोमा समेत जोड दिनुभयो।