काठमाडौँ, २९ मङ्सिर
कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा आज सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको छ।
सभामा बैंकका संचालक समिति अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा आर्थिक वर्ष २०८१/८२ को समीक्षा प्रस्तुत गरिएको थियो। बैंकले देशभरका दुर्गमदेखि सुगम क्षेत्रमा रहेका २८५ शाखा, मुख्य कार्यालय र अन्य कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र कृषिमा सबैभन्दा बढी लगानी गर्ने अग्रणी बाणिज्य बैंक रहेको तथ्य प्रस्तुत गरिएको थियो।
सभामा शेयरधनीलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरूप ९.७५ प्रतिशत (करसहित) उपलब्ध गराउने प्रस्ताव पारित गरिएको छ। सभामा भाग लिएका शेयरधनीहरूले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तिरमण पराजुली सहित ९ जना वक्ताले आफ्नो धारणा राख्नुभएको थियो भने केही शेयरधनीले लिखित टिप्पणी पनि प्रस्तुत गर्नुभएके थियो।
सभामा बैंकका उच्च व्यवस्थापक, कर्मचारी, संचालक समितिका सदस्यहरू सेवन्तक पोखरेल, डा. हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई, रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको पनि उपस्थिति रहेको थियो। साधारणसभाको सञ्चालन कम्पनी सचिव हिमलाल पौडेलले गर्नुभएको थियो।