काठमाडौं,२८ मङ्सिर
पत्रकार तथा सञ्चारकर्मीहरूको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त प्रशिक्षण यही पुस २ र ३ गते सिन्धुपाल्चोकको सुकुटेस्थित रिभरफन बीच रिसोर्टमा सम्पन्न हुनेछ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार डा। नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुहुनेछ। पत्रकारिताको व्यावसायिकता, लोक सञ्चार र सांस्कृतिक पत्रकारिताका विविध आयाममाथि केन्द्रित रहेर प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक तथा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ। लोक सञ्चारकर्मी नेपालका केन्द्रीय पदाधिकारी, उपत्यकासहित विभिन्न शाखा र सम्बद्ध संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सञ्चालन हुने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
यसैगरी, देशका विभिन्न सञ्चारमाध्यमका सञ्चालकहरूको पनि सहभागिता रहने गरी कार्यक्रम आयोजना गरिएको संयोजक दुलालले बताउनुभयो। कार्यक्रमलाई ऐतिहासिक र वृहत् बनाउने उद्देश्यका साथ नेपाली मौलिक लोक संस्कृति संरक्षण र प्रवर्द्धनमा पत्रकारिताको भूमिकाबारे गहन छलफल तथा बहस गरिने उहाँको भनाइ छ।
लोक संस्कृति र लोक सञ्चारसम्बन्धी विषयमा व्यवस्थित तथा पर्याप्त प्रशिक्षणको अभाव रहँदै आएको सन्दर्भलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको दुलालले स्पष्ट पार्नुभयो।
सिन्धुपाल्चोकको सुकुटे रिभरफन बीच रिसोर्टमा आयोजना हुने यस प्रशिक्षण कार्यक्रमको मुख्य प्रायोजक नेपाटेक मार्ट रहेको छ। यस्तै, गोकर्णेश्वर नगरपालिका–५ र ६ वडा कार्यालय, जोरपाटी (काठमाडौं), इन्द्रेणी सांस्कृतिक विकास केन्द्र तथा सोफा हब सहयोगी संस्थाका रूपमा आबद्ध रहेका छन्।