काठमाडौँ, २८ मङ्सिर
प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ। सरकारले पनि चुनावका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि चुनावी गतिविधि अगाडि बढाएका छन्।
मुख्य राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा चुनाव केन्द्रित अभियान शुरू गरिसकेका छन्। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ। प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ। उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ।
नेकपा (एमाले) को हिजोदेखि ११औँ महाधिवेशन शुरू भएको छ। महाधिवेशनको उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ रु भन्ने प्रश्न गर्नुभएको छ। उहाँले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने पनि बताउनुभयो।
अध्यक्ष ओलीले चुनावका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गर्नुभयो। एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ।
यस्तै, विभिन्न कम्युनिष्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले सन्देशसभाका नाममा देशव्यापी रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्र पारेको छ। दलले हिजो सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो। धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आउँदो पुस ५ गते काठमाण्डौमा सन्देशसभा आयोजना गर्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ। समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको रास्वापाले भेला सभामार्फत चुनाव केन्द्रित गतिविधि गरिरहेको छ।
निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो।
यस्तै, समानुपातिक प्रणालीतर्फ कूल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले अस्ति शुक्रवार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ।
यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको चुनावमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन्।रासस