काठमाडौं, २३ मंसिर
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सूची अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधिहरूको विवरण अन्तिम रूप दिन व्यस्त रहेको छ।
विभाग प्रमुख अधिकारीका अनुसार महाधिवेशनमा २ हजार १५४ जना प्रतिनिधि निर्वाचित भएर सहभागी हुनेछन्। त्यस्तै, १०८ जना प्रतिनिधि केन्द्रीय रुपमा मनोनयन गरिने भएका छन्। मनोनितसहित कुल प्रतिनिधि संख्या २ हजार २६२ पुग्ने अधिकारीले जानकारी दिनुभयो।
तात्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’ बाट आएका तीन जनाले पनि प्रतिनिधि बन्ने अनुरोध गर्दै निवेदन दिएका छन्। उनीहरूको विषयमा पार्टी सचिवालयले औपचारिक निर्णय गर्ने अधिकारीले बताउनुभयो।
अधिकारीले धनकुटा र ओखलढुंगामा प्रतिनिधि छनोटसम्बन्धी उत्पन्न समस्या समाधान भइसकेको जानकारी दिँदै दुवै जिल्लाले केन्द्रको अन्तरपार्टी निर्देशन १३अनुसार पुनः मापदण्ड बनाएर सर्वसम्मत रूपमा प्रतिनिधि पठाएको बताउनुभयो। अन्य तीन जिल्लामा परेको उजुरी भने छानबिनको चरणमा रहेको छ।
केही निर्वाचित प्रतिनिधिका बारेमा पनि मापदण्ड नपुगेको उजुरी परेकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो। संगठन विभागले मापदण्ड नपुगेका प्रतिनिधिलाई परिचयपत्र नबनाइने स्पष्ट गरेको छ। “हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको भेरिफिकेसन पूरा गरिसकेका छौँ,” अधिकारीको भनाइ छ।
महाधिवेशनको बन्दसत्र हलमा प्रतिनिधि बाहेक ३५१ जना सल्लाहकार परिषद्का सदस्य सहभागी हुने व्यवस्था मिलाइएको छ। परिषद्मा ३७६ सदस्यमध्ये २५ जना प्रतिनिधि निर्वाचित भइसकेकाले बाँकी सदस्य सहभागीका रूपमा प्रवेश गर्नेछन्। यसरी प्रतिनिधि तथा सहभागी गरी महाधिवेशनमा कुल २ हजार ६१३ जना उपस्थित हुनेछन्।
प्रतिनिधिहरूका परिचयपत्र बनाउने काम पनि तीव्र गतिमा भइरहेको केन्द्रीय कार्यालयले जनाएको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको र बिहीबारसम्म सम्पूर्ण प्रतिनिधि छनोट तथा कार्ड छपाइ कार्य पूरा हुने कार्यालयको भनाइ छ।