काठमाडौं, १६ मंसिर
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट गर्दै सरकारले आवश्यक तयारी पूरा गरिरहेको बताउनुभएको छ। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सिलसिलामा धनगढी पुगेका गृहमन्त्रीले निर्वाचनको वातावरण सुनिश्चित गरिएको दाबी गर्नुभयो।
उहाँका अनुसार सरकारको मुख्य जिम्मेवारी समयमै, भयरहित र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नु हो। “हामी पूर्ण तयारीमा छौँ, निर्धारित मितिमै निर्वाचन हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,” गृहमन्त्री अर्यालले भन्नुभयो। उहाँले राजनीतिक दलहरूको चुनावी गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तयार पारिएको पनि बताउनुभयो।
जेनजी आन्दोलनका कारण केही समय सुरक्षा संयन्त्र र प्रशासनिक कामकाज प्रभावित भए पनि अब सबै क्षेत्र लयमा फर्किएको गृहमन्त्रीको भनाइ थियो। लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री अर्यालले चुनावको तयारीका सन्दर्भमा केही मनोवैज्ञानिक चुनौती आएकाले सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
हिंसा तथा अराजकता रोकथामका लागि सरकार प्रतिबद्ध रहेको र त्यसअनुसार सुरक्षा संयन्त्र परिचालन भइरहेको उहाँले स्पष्ट पार्नुभयो। “देश निर्माण सबैको जिम्मेवारी हो, यस विषयमा ढुक्क हुन आग्रह गर्दछु,” गृहमन्त्री अर्यालले भन्नुभयो।
सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीलगायतले मन्तव्य राख्नुभएको थियो। बैठकमा गृहसचिव, चारवटै सुरक्षा निकायका प्रमुख तथा सबै नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो।