धनगढी, १५ मङ्सिर
गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीको त्रिनगर–गौरीफन्टा नेपाल–भारत सीमा नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ।
मंगलबार धनगढीमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री अर्यालले आज बिहान नाकामा पुगेर सुरक्षा व्यवस्था तथा आवागमन अवस्थाको अनुगमन गर्नुभएको हो। उहाँसँगै सुरक्षा निकायका प्रमुखहरू, गृह मन्त्रालयका सहसचिव तथा उपसचिवहरू पनि निरीक्षणमा सहभागी हुनुहन्थो।
नाकाको निरीक्षणपछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरमा पुगेका गृहमन्त्री अर्यालले सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्न, अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चाल्न तथा आवागमनलाई व्यवस्थित र सहज बनाउन निर्देशन दिनुभएको थियो।
प्रदेशको समग्र सुरक्षा अवस्था, चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने उद्देश्यसहित भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना हुने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
गोष्ठीका लागि गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका रथी प्रदीपजङ्ग केसी तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की आजै धनगढी पुग्ने कार्यक्रम छ।
गृहमन्त्री अर्याल नेतृत्वको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पनि निरीक्षण गरेको छ।