काठमाडौँ, १२ मंसिर
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सैनिक मुख्यालय जङ्गी अड्डा पुगेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सेनाले गरिरहेको सुरक्षा तयारीबारे प्रत्यक्ष अवलोकन गर्नु भएको छ।
निरीक्षणका क्रममा नेपाली सेनाले देशको हालको सुरक्षा अवस्था, सम्भावित चुनौती र आसन्न चुनाव केन्द्रित योजनाबारे विस्तृत ब्रिफिङ पेस गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालन, संरचना, समन्वय प्रक्रिया तथा आवश्यक सक्षम र द्रुत प्रतिक्रिया उपायसमेत प्रस्तुत गरेको जनाएको छ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रमुख दायित्व शान्ति–सुरक्षा कायम गर्दै तोकिएको मितिमै चुनाव सम्पन्न गर्नु रहेको बताउँदै सेनालाई दिएको जिम्मेवारी निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो।
.jpg)
प्रधानमन्त्रीले निर्वाचन सुरक्षा सुदृढीकरणका लागि स्पष्ट निर्देशन दिँदै जनताको सुरक्षाको पूर्ण प्रत्याभूति हुने वातावरण बनाउन, प्रहरी कार्यलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित सुव्यवस्थित कार्ययोजना अनुसार अघि बढ्न आग्रह गर्नुभयो। उहाँले चुनावमा एक थोपा रगत नबग्ने र एक जनासमेत घाइते नपर्ने लक्ष्य राख्दै विगतका अनुभव र आसन्न परिस्थितिको गम्भीर मूल्यांकनका आधारमा सबै सुरक्षा निकायबीच समन्वयात्मक, त्रुटिरहित र संवेदनशील ढङ्गले काम गर्न निर्देशन दिनुभयो। साथै, जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा सुरक्षा निकायसँग घनिष्ठ सहकार्य गर्दै फरार अभियुक्तहरु पक्राउ गर्न कुनै पनि कमी–कसर नछोड्न आदेश समेत दिनुभयो।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।