काठमाडौं, ७ मंसिर
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा ठूलो मात्रामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममार्फत ६०२ युनिट रगत संकलन गरिएको बैंकले जनाएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार वार्षिकोत्सव विशेषमा गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ। आज मात्रै सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरका १६ विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टरलगायत सामग्री वितरण गरेको छ। साथै, म्याग्दीको निस्कोट स्वास्थ्य चौकीलाई सरसफाइ सामग्री, चन्द्रागिरिस्थित मातातीर्थ वृद्धाश्रमलाई खाद्यान्न तथा चितवनमा सत्य साई राष्ट्रिय परिषद् नेपाललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको रेग्मीले जानकारी दिनुभयो।
‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ नाराका साथ शनिबार आयोजित गरिमा रोड रेस मा एक हजारभन्दा बढी धावक सहभागी भएका थिए। बैंकले यस्ता सामाजिक उत्तरदायित्वमूलक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने र रोड रेस प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने योजना रहेको जनाएको छ।