काठमाडौं,५ मङ्सिर
नेपाल धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंशचिति अग्राधिकार (प्रिफरेन्सियल) सेयर निष्काशनको अनुमति प्रदान गरेको छ। बोर्डले नबिल बैंकलाई ८ प्रतिशत निश्चित लाभांश दरमा ५ करोड कित्ताको अविमोच्य प्रिफरेन्स सेयर जारी गर्न स्वीकृति दिएको हो। यसका निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहनेछ।
यो सेयर भुक्तानी अवधि नतोकिएको, तर निश्चित प्रतिशत लाभांश प्रदान गर्न सक्ने विशेषतायुक्त पुँजी बजार उपकरण हो। परिपत्र विधिबाट जारी हुने यस्ता सेयरमा केवल संस्थागत लगानीकर्ताले मात्र सहभागी हुन पाउनेछन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना तथा अन्य लाइसेन्स प्राप्त धितोपत्र व्यवसायीहरूलाई भने लगानी गर्न निषेध गरिएको छ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार आवश्यकताअनुसार यो सेयर संस्थापक समूहको साधारण सेयरमा रूपान्तरण हुने सम्भावना रहन्छ। कम्पनीले वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमै लाभांश वितरण गर्न सक्ने भएकाले यसलाई ‘अंशचिति’ प्रकृतिको अग्राधिकार सेयर मानिन्छ।
२००७/०९ को विश्वव्यापी वित्तीय संकटपछि वित्तीय संस्थाको पुँजी संरचना बलियो बनाउन अन्तर्राष्ट्रिय बजारमा परिचालित यस्ता उपकरण नेपालमा पहिलोपटक निष्काशन हुन लागेका हुन्। बोर्डले निर्देशिका संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्र यस्तो उपकरण जारी गर्न पाउने व्यवस्था गरेको छ।
यस सेयरलाई दोस्रो बजारमा सूचिकृत गरिनेछ, जसले संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा समेत कारोबार गर्ने सुविधा उपलब्ध गराउनेछ। अग्राधिकार सेयरधनीका अधिकार विवरणपत्रमा उल्लेखित प्रावधानअनुसार लागू हुनेछन्। कम्पनी विघटनको अवस्थामा, यो सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर साहू, निक्षेपकर्ता तथा पूरक पुँजीधनीभन्दा पछाडि पर्नेछ।
यो उपकरणले वित्तीय संस्था कमजोर अवस्थामा पुगेका बेला पुँजी संरचना सुदृढ गर्न मद्दत पुर्याइरहेको छ, जसले जोखिम न्यूनिकरण र वित्तीय स्थायित्वमा योगदान गर्ने अपेक्षा गरिएको छ। लगानीकर्ताका लागि पनि नयाँ लगानी उपकरणको रूपमा यो अवसर खुल्नेछ।
तर, अविमोच्य र अंशचिति विशेषताका कारण संस्थागत लगानीकर्ताले विवरणपत्र तथा जोखिम खुलासा विवरण राम्रोसँग अध्ययन गरी आफ्नो जोखिम वहन क्षमताका आधारमा मात्र लगानी निर्णय गर्नु उपयुक्त हुने बोर्डले जनाएको छ।