काठमाडौं, ४ मंसिर
जेनजी आन्दोलनका सहभागी समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनका माग र अपेक्षा पूरा गर्न नसकेको भन्दै सरकार फिर्ता बोलाउन माग गरेका छन्।
सोमबार २३ जेनजी समूहका प्रतिनिधिहरूले राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउँदै कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनका लागि मध्यस्थता गर्न आग्रह गरेका हुन्।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि बनेको यो सरकारले ठूला भ्रष्टाचार प्रकरणमा कडा कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन, आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही, घाइतेको उपचार तथा शहीद परिवारलाई क्षतिपूर्ति जस्ता आधारभूत अपेक्षा पनि पूरा नभएको उनीहरूको आरोप छ।
ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका अपेक्षालाई बेवास्ता गर्दै केवल एक पटकको निर्वाचनमै सरकार सीमित भएको देखियो। यो विद्रोह केवल ‘अर्ली इलेक्सन’का लागि भएको थिएन।”
विद्रोही पक्षका २३ जेनजी अलायन्स, घाइते र शहीद परिवारका तर्फबाट उनीहरूले सरकारबाट तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमा थप उल्लेख छ, “यदि सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसक्ने हो भने वर्तमान सरकार फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि सम्माननीय राष्ट्रपति ज्यूले मध्यस्थता गरिदिनुहोस्।”
त्यसैगरि, माग नपुरा भए शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रमको चेतावनी समेत जेनजी समूहले दिएका छन्।
