काठमाडौं,४ मंसिर
एनआईसी एसिया बैंकले अब सेयर धितो कर्जामा प्रिमियम शुल्क नलिइ, आधार दरमै कर्जा प्रवाह गर्ने भएको छ। बैंकले ‘एनआईसी एसिया सेयर लोनः सेयर तपाईंको साथ हाम्रो’ भन्ने नाराका साथ यो सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले कुल ४ अर्ब २४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ। असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सेयर धितो लगानी १ खर्ब ४४ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकले सेयर धितो कर्जामा कुल १ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेका छन्। गत वर्षको असोजसम्ममा यो रकम ८४ अर्ब २१ करोड रुपैयाँ थियो। यस अवधिमा एनआईसी एसिया बैंकले २ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ।
बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको अधिकतम ४० प्रतिशतसम्म मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्न पाउने नियम अनुसार, एनआईसी एसिया बैंकको कुल चुक्ता पुँजी २२ अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको छ। ४० प्रतिशतको नियम लागू गर्दा बैंकले ८ अर्ब ८७ करोड ४८ लाख रुपैयाँसम्म सेयर धितो कर्जा प्रवाह गर्न सक्छ।
असोज मसान्तसम्म २ अर्ब ४७ करोड ५० लाख रुपैयाँ लगानी भइसकेको हुँदा, एनआईसी एसियाले अझै ६ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा आधार दरमै, शून्य प्रिमियम शुल्कमा प्रवाह गर्न सक्छ।