काठमाडौं, ३ मंसिर
आज बालाचतुर्दशी, अर्थात् शतबीज छर्ने पवित्र दिन, हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धाका साथ मनाइरहेका छन्। मंसिर कृष्ण पक्षको चतुर्दशीलाई पितृउद्धारको महत्वपूर्ण अवसर मानिँदै आएको छ।
पितृहरूको मोक्षकामनासहित पशुपति क्षेत्र आज बिहानैदेखि शतबीज छर्न आउने भक्तजनले भरिएको छ। मंगलबार राति पितृका नाममा दीप प्रज्वलन गरी जाग्राम बसेपछि भक्तजनहरूले बुधबार विहान विभिन्न शिवालयमा शतबीज अर्पण गरेका हुन्। मान्यता अनुसार शिवालयमा शतबीज छरेपछि मृत आत्माले वर्षभरि तृप्ति प्राप्त गर्ने विश्वास छ।
चलनअनुसार त्रयोदशीको रात जाग्राम बसेपछि चतुर्दशीको बिहान जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रालगायतका वस्तु शतबीजका रूपमा छरिन्छन्। आज पनि बिहानैदेखि देशका विभिन्न भागबाट आएका भक्तजन पशुपति क्षेत्रमा शतबीज छर्न ठूलो संख्यामा उपस्थित भएका छन्।
बालाचतुर्दशीको अवसरमा भक्तपुरको डोलेश्वर महादेव, ज्योतिर्लिङ्गेश्वर–गोकुलधाम, चितवनको देवघाटलगायतका तीर्थस्थानमा पनि भक्तजनहरूले शतबीज अर्पण गरी पितृहरूको शान्ति र मोक्षको कामना गरेका छन्।