काठमाडौं, १ मंसिर
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा र प्रतिनिधिसँग आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तर्क्रियामा सहभागी हुँदै निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभयो।
लोकतान्त्रिक प्रक्रियालाई सही मार्गमा फर्काउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उक्त अवसरमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको निर्वाचन कुनै राजनीतिक इच्छा वा सरकारको निर्णय मात्र नभई संवैधानिक रिक्तता रोक्न अपरिहार्य राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभयो। केही समूहद्वारा सिर्जना गरिएको अन्योल हटाउन र निर्वाचनको वैधानिकता तथा विश्वसनीयता कायम गर्न नागरिक समाजले दृढ रूपमा सरकारको साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँका अनुसार निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्न प्रमुख राजनीतिक दलहरूले मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा दर्ता हुनुपर्नेछ, जुन निर्वाचन तयारीको महत्वपूर्ण सूचक पनि हो। साथै, सरकारले ट्र्याक–टु संवादमार्फत विभिन्न दलहरूसँग विश्वास निर्माणको प्रक्रिया अघि बढाइरहेको उहाँले बताउनुभयो। नागरिक समाजले समेत आफ्नो प्रभावकारी भूमिकामार्फत दलहरूलाई प्रक्रियामा फर्काउन सहयोग गर्ने अपेक्षा उनले व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीमा पनि सरकार दृढ भएर खडा भएको उल्लेख गर्नुभयो। निर्वाचन आयोगको कार्यक्षमता अभिवृद्धिका लागि निरन्तर संवाद भइरहेको, सुरक्षा र सुशासनलाई प्राथमिकता दिइएको तथा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन अनावश्यक खर्च तथा कर्मचारी भर्ना जस्ता कुव्यवस्था रोक्न कडाइका साथ निगरानी गरिने उहाँले स्पष्ट पार्नुभयो।
जेन–जी आन्दोलनबारे उहाँले यसलाई केवल कानून–व्यवस्थासम्बन्धी विषयका रूपमा नलिएर यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टि प्रकट गर्ने माध्यम भएको बताउनुभयो। युवा पुस्ता नयाँ राजनीतिक भाष्यतर्फ आकर्षित भइरहेका बेला उनीहरूको मन जित्न र निर्वाचनमा सहभागिता बढाउन सरकारले अध्यादेश तथा अन्य उपायमार्फत संरचनात्मक सुधारका कदम चालिरहेको उल्लेख गर्नुभयो।
त्यस्तै, निर्वाचन अवधिमा द्वेषपूर्ण र भड्काउ अभिव्यक्ति प्रयोग गर्ने व्यक्तिमाथि सम्बन्धित निकायले तत्काल र सार्वजनिक रूपमा कारबाही गर्ने बताउँदै, ‘हट–स्पट’ क्षेत्रको नक्साङ्कन तथा गुप्तचर परिचालन बढाइएको जानकारी गराइन्। शान्तिपूर्ण र सुरक्षित मतदानका लागि नागरिक सतर्कता अझै महत्त्वपूर्ण रहेको उहाँले स्मरण गराउनुभयो।