काठमाडौँ, ३० कात्तिक
गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावनालाई केन्द्रमा राखी कार्यसम्पादन गर्न गृहमन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ। आइतबार गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठक’मा विशेष उपस्थित हुँदै मन्त्री अर्यालले सबै कर्मचारीलाई सक्रिय भूमिकामा रहँदै निर्वाचनसँग सम्बन्धित तयारीमा पूरा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो।
मन्त्री अर्यालले वर्तमान सरकारको प्राथमिकता आगामी निर्वाचन भएको उल्लेख गर्दै पुराना संरचना र प्रक्रियामा मात्र निर्भर नरहेर प्रविधिको उपयोग गर्दै निर्वाचनलाई थप सहभागितामूलक र जनमैत्री बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मतदाताको अधिकार सुनिश्चित हुने गरी सबैले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ।”
उहाँले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयहरूमा सेवाप्रवाहलाई प्रभावकारी बनाउन, जनसरोकारका विषयमै प्रत्यक्ष पुगेर सेवा दिन तथा परिवर्तन महसुस हुने वातावरण सिर्जना गर्न निर्देशन दिनुभयो।
जेनजी समन्वय समिति सक्रिय बनाउन तथा पीडितका गुनासा सुन्ने र सम्बोधन गर्ने प्रणाली मजबुत बनाउनु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले यसमार्फत मन्त्रालयबारे बाहिर बनेका भ्रान्त धारणालाई तोड्न सकिने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा गृहमन्त्री अर्यालले घाइतेको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेनजी घाइतेलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिनुभयो।
गृहसचिव दंगालले मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताउँदै राष्ट्रिय परिचयपत्र, सशस्त्र प्रहरीलगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको तथा नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
दंगालले तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखेर काम गर्न सबै प्रमुखलाई निर्देशन दिँदै भदौ २३ गतेपछिको परिस्थिति अनुसार मन्त्रालयको कामकाजमा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो।
बैठकमा मन्त्रालय अन्तर्गतका रहनु भएका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुहरुले आफ्नो क्षेत्रका प्रगति र बस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो।