काठमाडौँ, ३० कात्तिक
विदेशमा रहेका नेपाली नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउने उद्देश्यसहित सरकारले अध्यादेश अघि बढाएको छ। मतदाता नामावलीमा नाम समावेश भएका विदेशस्थित नेपालीलाई सम्बन्धित दूतावास वा नियोगमार्फत समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था प्रस्तावित अध्यादेशमा समावेश गरिएको छ। गृह मन्त्रालयले तयार पारेको मसौदा सरोकारवालाको सुझाव समेटेर हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार विदेशमै मात्र नभई नेपालभित्र रहेर पनि अन्य निर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मतदानको सहज व्यवस्था मिलाउन प्रयास भइरहेको छ। “आउट अफ कन्ट्रीसँगै आउट अफ कन्स्टिच्युयन्सीका मतदातालाई पनि निर्वाचनमा सहभागी गराउने हाम्रो तयारी छ,” मन्त्री अर्यालले बताएका छन्।
कानुन मन्त्रालयबाट आवश्यक संशोधनको प्रक्रिया पूरा भएपछि अध्यादेश मन्त्रिपरिषद्मा जाने र स्वीकृत भएपछि राष्ट्रपतिबाट जारी हुने छ। तयारी अनुसार अध्यादेश आउँदो साताभित्र अन्तिम रूप पाउने अपेक्षा गरिएको छ।
अध्यादेशमार्फत निर्वाचन आयोग, मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय, र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी चार ऐनमा संशोधन गर्ने व्यवस्था प्रस्तावित छ। प्रस्ताव अनुसार दूतावास वा नियोगले मतदाता नामावली प्रमाणीकरण गर्ने र त्यहीँ मतदान केन्द्र तोक्ने व्यवस्था रहनेछ। उक्त केन्द्रका मतदान अधिकृतका रूपमा त्यहाँ कार्यरत सरकारी कर्मचारीलाई तोक्ने प्रस्ताव छ।
विदेशस्थित नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले झन्डै दशकअघि नै आदेश दिएको थियो। तर, प्राविधिक चुनौतीको कारण लामो समयसम्म सरकारहरूले आदेश कार्यान्वयन गर्न नसकेको भन्दै आएका थिए। जेनजी आन्दोलनपछि गठन भएको सरकारले भने अन्ततः कानुनी प्रक्रिया अघि बढाएको छ।