नयाँदिल्ली, २८ कात्तिक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बिहार राज्यको महत्वपूर्ण चुनावमा प्रारम्भिक नतिजामा उल्लेखनीय अग्रता लिनुभएको छ।
यो चुनावलाई प्रधानमन्त्रीको लोकप्रियता तथा देशका गरिब तर राजनीतिक रूपमा अत्यन्त प्रभावशाली राज्यमध्ये एकमा उहाँको गठबन्धनको प्रभावको सूचकका रूपमा हेरिएको थियो । भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक नतिजा अनुसार पूर्वी राज्य बिहारको २४३ सदस्यीय व्यवस्थापिकामा एनडिएले करिब २०० सिट हासिल गर्ने अनुमान गरिएको छ।
यसले राज्यमा सरकार गठनका लागि आवश्यक १२२ को साधारण बहुमत सहजै पार गर्ने सङ्केत दिएको छ। यसमध्ये प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले मात्रै ९० सिट जित्ने प्रक्षेपण गरिएको छ। करिब १३ करोड जनसङ्ख्या भएको बिहार देशको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या रहेको राज्य हो।
यस राज्यले भारतको संसद्को तल्लो सदन (लोकसभा) मा चौथो सबैभन्दा बढी सांसद पठाउँछ। यो राज्यलाई भारतको हिन्दीभाषी हृदयभूमिमा राजनीतिक प्रवृत्ति निर्धारण गर्ने प्रमुख सूचकका रूपमा प्रतिष्ठित गरिएकाले यस्तो अवस्थामा बिहारमा विजय प्राप्त गर्नु सत्तारूढ पक्षका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
यस वर्ष सम्पन्न दुई चरणको निर्वाचन बेरोजगारी, कानुन-व्यवस्था तथा मतदाता सूची संशोधनमा देखिएका अनियमिततासम्बन्धी सार्वजनिक चिन्ताका बिचमा सम्पन्न भएको थियो। यसअघि नै प्रधानमन्त्री र विपक्षी नेता दुवै पक्षबाट विशाल जनसभा, आक्रामक कल्याणकारी प्रतिबद्धता तथा मतदातासँग प्रत्यक्ष सम्पर्कजस्ता तीव्र चुनावी गतिविधिले राज्यभर तीव्र प्रतिस्पर्धा देखिएको थियो।
प्रारम्भिक मतगणनामा एनडिएले उल्लेखनीय अग्रता लिँदा राज्यकाे राजधानी पटनामा समर्थकले पार्टीका झण्डा फहराउँदै, ड्रम बजाउँदै, नाचगान तथा पटाखा फोडेर उत्सव मनाएका छन्। रासस