काठमाडौँ, २८ कात्तिक
नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले आगामी निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन सुरु गर्न माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन्।
उनीहरूले मंसिरभित्रै महाधिवेशन प्रारम्भ गर्न र अधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका तत्काल ल्याउनुपर्ने आग्रह गरेका छन्।
मागपत्र बुझाउने २४ जना सदस्य १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट निर्वाचित भएका थिए। यस समूहमा राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्का रहेका छन्।
मागपत्रमा भनिएको छ, ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने।’