काठमाडौँ,२८ कात्तिक
निर्वाचन आयोगले मतदाता सूची दर्ता प्रक्रिया सहज बनाउन राष्ट्रिय परिचयपत्र बनाउँदा संकलित ‘बायोमेट्रिक्स’ तथ्यांक प्रयोग गर्ने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली दर्तामा चाप बढेपछि राष्ट्रिय परिचयपत्रका लागि संकलित जैविक विवरण (औँठाछाप, फोटो, हस्ताक्षर) प्रयोग गर्ने व्यवस्था परीक्षणसहित शुभारम्भ गरिएको हो। बिहीबार आयोगमा जेन–जी युवासहितको उपस्थितिमा यो प्रणाली औपचारिक रूपमा सुरु गरिएको छ।
यससँगै राष्ट्रिय परिचयपत्र बनाइसकेर विदेशमा रहेका नागरिकले पनि मतदाता नामावलीमा आफ्नो नाम अनलाइनमार्फत दर्ता गराउन सक्ने भएका छन्। यसको लागि सम्बन्धित व्यक्तिले वेबसाइटमा आफ्नो परिचयपत्र नम्बर र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। विदेशमा रहेकाहरूका लागि मोबाइल नम्बरको सट्टा इमेल ठेगाना प्रयोग गर्न सकिने व्यवस्था छ।
भण्डारीका अनुसार अब मतदाता नामावली दर्ताका लागि अलग्गै बायोमेट्रिक लिन जिल्ला निर्वाचन कार्यालय धाउनुपर्ने छैन। घरमै बसेर अनलाइन फारम भरी परिचयपत्रको विवरण पुष्टि भएपछि आफूले मतदान गर्ने प्रदेश, जिल्ला र स्थानीय तहको विवरण भर्न सकिनेछ।
तर, राष्ट्रिय परिचयपत्र नम्बर नभएका नागरिकले भने स्वदेश वा विदेश कतैबाट पनि अनलाइनमार्फत मतदाता नामावली दर्ता गराउन नपाउने आयोगले जनाएको छ।
यो व्यवस्था प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार सिंहदरबारमा बसेको आयोगका पदाधिकारी तथा पञ्जीकरण विभागबीचको बैठकपछि लागू गरिएको हो।
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ।