काठमाडौँ, १९ कात्तिक
निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले पुस २० गतेदेखि निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यतालिकामा मनोनयन दर्ता, दाबी–विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका चरणहरू समावेश छन्। उहाँले आयोगले आन्तरिक व्यवस्थापन र प्रशासनिक सहजताका लागि तालिका स्वीकृत गरेको जानकारी दिँदै आवश्यक परे संशोधन गर्न सकिने बताउनुभयो।
कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्नेछ। एक साताको समयसीमा दिइनेछ र प्राप्त निवेदनहरूको छानबिनपछि मङ्सिर दोस्रो साता दल दर्ता स्वीकृत गर्दै निर्वाचन चिह्न प्रदान गरिनेछ।
यससँगै आयोगले मङ्सिर दोस्रो साताभित्रै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको छ। कात्तिकभित्रै मतदाता नामावली तयारी, निर्वाचन सामग्रीको पहिचान र मौज्दात विश्लेषण कार्य सम्पन्न गरिनेछ भने पुस पहिलो साता मतदाता नामावली सार्वजनिक गरिनेछ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले मतदान गर्नेछन्। आगामी फागुन २० गते १९ सदस्यको पदावधि समाप्त हुने भएकाले सोभन्दा करिब ४० दिनअघि निर्वाचन हुने तय भएको हो। तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सदस्यको कार्यकाल सकिँदैछ।
आयोगको तालिका अनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, दोस्रो साता निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुनेछ। पुस अन्तिम साता मतपत्र छपाइलगायतका काम सुरु हुने र माघ पहिलो साता प्रचार–प्रसार अवधि रहनेछ। मतदानभन्दा ४८ घण्टा अघि मौन अवधि सुरु हुनेछ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले कात्तिक १२ गतेको बैठकबाट माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको थियो। ऐनअनुसार पदावधि समाप्त हुने सदस्यको निर्वाचन मिति सो पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि तोक्नुपर्ने व्यवस्था छ। सरकारले मिति तोकेसँगै निर्वाचन आयोगले सम्पूर्ण तयारी अघि बढाएको जनाएको छ।