काठमाडौँ,१७ कात्तिक
राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन सोमबार कतारको राजधानी दोहा आइपुग्नुभएको छ। सम्मेलन यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुँदैछ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित दोहा पुग्नुभएको हो।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल तथा कतार विदेश मन्त्रालयका उच्चपदस्थ पदाधिकारीहरूले राष्ट्रपतिको स्वागत गर्नुभएको थियो।
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ। साथै, सम्मेलनका अवसरमा उहाँले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ।
यसअघि, पहिलो विश्व शिखर सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो। यसपटकको सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यामा असन्तुलन र प्रविधिक परिवर्तनका सामाजिक प्रभावलगायत विषयमा गहन छलफल हुने बताइएको छ।
संयुक्त राष्ट्रसंघको सन् १९५५ मा सदस्य बनेदेखि नेपाल शान्ति र स्थायित्वका पक्षमा सधैं सक्रिय र प्रतिबद्ध रहँदै आएको छ। हाल नेपाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष देशका रूपमा कार्यरत छ।
कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल आगामी कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।