म्याग्दी,१७ कात्तिक
म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर २ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएको छ। तीन वटा ‘क्यामेरा’ जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको हो। जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले ६ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको अध्ययनबाट पुष्टि भएको दाबी गर्नुभयो।
स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/नभएको स्थलगत अध्ययन गरेका थिए। अनुसन्धानकर्ता लरिसा गौतमले त्यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो।
रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगामा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ। रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ।
रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ। विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ। अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ। रासस