काठमाडौँ, १७ कात्तिक
राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज कतार प्रस्थान गर्नुभएको छ। सम्मेलन यही कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुँदैछ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गर्नुभएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रपतिलाई बिदाई गर्नुभयो। सो अवसरमा विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा उहाँले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार यो दोस्रो विश्व शिखर सम्मेलन ३० वर्षपछि हुन लागेको हो। पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा आयोजित भएको थियो।
यो सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन, प्रविधिका प्रभावलगायत विषयमा गहन छलफल हुने बताइएको छ। साथै, सामाजिक विकासका क्षेत्रमा सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता पनि व्यक्त गरिनेछ।
राष्ट्रपति पौडेलसँग धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहन्छ। उहाँ आगामी कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।