काठमाडौँ, १० कात्तिक
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु र समर्पित भएर मुलुक, जनता र संविधानको रक्षा गर्न आग्रह गर्नुभएको छ।
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सभापति खड्काले देश र पार्टी दुबै प्रतिकूल परिस्थितिमा रहेको अवस्था औँल्याउँदै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न युवालाई निर्देशन दिनुभएको हो।
उहाँले भन्नुभयो, “शान्ति र सुशासन कायम गर्न जेन- जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलनमा आक्रमण हुँदा मुलुकले ठूलो विपत्ति भोग्नुपर्यो। भदौ २४ गते न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरी ध्वस्त पारियो, जनताका अधिकार सुनिश्चित गर्न लागेका संरचनाहरू नष्ट भए, र सम्पूर्ण राज्यप्रणाली प्रतिकूल अवस्थामा पुगे।”
सभापति खड्काले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेकोमा प्रशंसा गर्दै प्रतिकूल परिस्थितिमा समेत तरुण दलको स्थापना दिवस मनाउन पाएकोमा धैर्य र एकताका साथ अघि बढ्न युवाहरूलाई आग्रह गर्नुभयो।
कार्यवाहक सभापति खड्काले राष्ट्रिय एकता र संविधानको संरक्षणका लागि सबै दल र पक्षलाई एकताबद्ध गर्ने विश्वास दिलाउँदै, नेपाली कांग्रेसले भरोसायोग्य कदम चाल्ने प्रतिबद्धता बताउनुभयो। उहाँले भन्नुभयो, “प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन भएको छ र हाम्रो पार्टीको कार्यसम्पादन समितिले यसबारे निर्णय गरिसकेको छ।”
सभापति खड्काले नेपाली जनताले कांग्रेसमा ठूलो अपेक्षा राखेको स्मरण गर्दै विगतका कमजोरीहरूको समीक्षा गर्दै बृहत् एकताको माध्यमबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको कुरा कांग्रेस कार्यसम्पादन समितिले निर्णय गरिसकेको पनि बताउनुभयो। ‘प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन भयो भनेर हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको छ,’– उहाँले भन्नुभयो।