काठमाडौँ, ९ कात्तिक
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार औपचारिक रूपमा विस्तार गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ ग्रहण गराउनुभयो।
स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त डा. शर्मा पूर्वसचिव हुनुहुन्छ भने युवा तथा खेलकुद मन्त्री गुप्ता एक सामाजिक अभियन्ता हुनुहुन्छ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
प्रधानमन्त्री कार्कीले भदौ ३० गते पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्नुभएको थियो। त्यस क्रममा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेका थिए।
त्यसपछि असोज ६ गते दोस्रो चरणमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हा उद्योग, वाणिज्य, आपूर्ति तथा भूमिसुधार मन्त्री, मदन परियार कृषि तथा पशुपन्छी विकास मन्त्री, र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त हुनुभएको थियो।
आइतबार स्वास्थ्य र खेलकुद मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अब १० सदस्यीय बनेको छ।