संयुक्त राष्ट्रसङ्घ, ६ असोज
अफ्रिकी सङ्घ (एयू), युरोपेली सङ्घ र संयुक्त राष्ट्रका उच्चस्तरीय प्रतिनिधिले आइतबार संयुक्त राष्ट्र मुख्यालयमा भेला भएर आजका विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीय साझेदारीलाई सबैभन्दा प्रभावकारी उपायको रूपमा पुनः पुष्टि गर्नु भएको छ।
बैठकमा एयू आयोगका अध्यक्ष महमूद अली युसुफ, युरोपेली परिषदका अध्यक्ष अन्तोनियो कोस्ता, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयन र संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेससहित ती तीन सङ्गठनका वरिष्ठ प्रतिनिधिले सहभागिता जनाउनुभएको थियो।
तीन सङ्गठनले जारी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानून, मानवीय कानून र मानवअधिकारको सम्मानमा देखिएको कमीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र सन्धिको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिनुभएको छ। बैठकमा विशेष गरी सुडानमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने विषयमा सम्वेदनशीलता र गम्भीरताका साथ छलफल भएको थियो।
साथै, आतङ्कवादी सशस्त्र समूहको विरुद्ध सङ्घर्षलाई अझ सुदृढ पार्ने, सहिष्णुता प्रवद्र्धन गर्ने र विकासका लागि आवश्यक पहल गर्ने विषयमा विचारविमर्श गरिएको थियो। तीनै सङ्गठनले लिबियामा राजनीतिक प्रक्रिया पुनः जीवित गर्न संयुक्त राष्ट्रको रोड म्यापलाई पुरा समर्थन जनाएको छ।
पूर्वी कङ्गो लोकतान्त्रिक गणराज्यका शान्ति पहल, सोमालियामा अफ्रिकी सङ्घको समर्थन तथा स्थिरीकरण मिसनलाई साथ दिने विषयमा पनि सकारात्मक छलफल भएको थियो। त्यस्तै, अफ्रिका र विश्वका अन्य भागमा शान्ति अभियान्त्रणको पुनरावलोकन गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
तीन सङ्गठनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अनुसार अफ्रिकी सङ्घ नेतृत्वमा शान्ति समर्थन कार्यका लागि वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गर्न आग्रह गरेका छन्। अफ्रिकामा दिगो शान्ति र विकासको लागि संयुक्त प्रतिबद्धता पनि पुनः व्यक्त गरिएको छ।
साथै, विकासका लागि वित्तीय स्रोत जुटाउन, लगानी प्रवद्र्धन गर्न र विकासशील देशका ऋण समस्या समाधान गर्न सिविल्ला प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा सबैको सहमति थियो। जी-२० को दक्षिण अफ्रिका अध्यक्षतामा बहुपक्षीय विकास बैंकको सुधार र ऋण व्यवस्थापनमा थप प्रगति आवश्यक रहेको कुरामा पनि बैठकमा सहमति भएको छ।
जलवायु परिवर्तनका कारण संसारभर देखिएका चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आगामी नवेम्बरमा ब्राजिलमा आयोजना हुने कोप सम्मेलनमा महत्वाकांक्षी प्रतिबद्धता गर्न आह्वान गरिएको छ। तीन सङ्गठनले आगामी वर्ष सन् २०२६ मा संयुक्त राष्ट्र महासभाको ८१ औं सत्रको अवसरमा फेरि बैठक बस्ने सहमति पनि व्यक्त गरेका छन्। रासस