काठमाडौँ, ३ असोज
प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिवसको अवसरमा उहाँले लोकतान्त्रिक प्रणाली जनताको आवाज सुन्ने र समाधान खोज्ने व्यवस्था हो भन्नेमा जोड दिनुभयो।
सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गर्नुभयो।
उहाँले २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको ऐतिहासिक प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सम्पूर्ण नेपालीको साझा दायित्व रहेको प्रष्ट पार्नुभयो।
हालैको जेनजी आन्दोलनबारे उहाँले युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न कटिबद्ध रहेको स्पष्ट गर्नुभयो। साथै, आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको उल्लेख गर्दै उहाँले छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने अठोट व्यक्त गर्नुभयो।
संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्कीज्यूले ऐतिहासिक जनआन्दोलनदेखि हालसम्म शहीद भएका महान् आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै, आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासलाई राष्ट्रिय एजेन्डाका रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित सरकारका उच्च पदाधिकारी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।