जेनेभा, २ असोज
जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबिचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा सङ्कुचित हिमनदी, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको जनाएको छ।
“विश्वका जलस्रोत बढ्दो दबाबमा छन्, त्यसमाथि पानीसँग सम्बन्धित चरम खतराले जीवन र जीविकामा गहिरो असर पारिरहेका छन्”, डब्लुएमओ प्रमुख सेलेस्टे साउलोले विज्ञप्तिमा भन्नुभयो। प्रतिवेदनअनुसार गत वर्ष इतिहासकै सबैभन्दा तातो थियो। यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो।
डब्लुएमओले लगातार छैटौँ वर्ष विश्व नदी बेसिनमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ। “दुई तिहाइ क्षेत्रमा अत्यधिक वा न्यून पानीको अवस्था छ, जसले हाइड्रोलोजिकल चक्रको बढ्दो अनियमितता देखाउँछ”, प्रतिवेदनमा भनिएको छ। तातो मौसमका कारण प्रमुख तालको पानी गुणस्तरमा गिरावट आएको र लगातार तेस्रो वर्ष सबै क्षेत्रमा हिमनदीहरू सङ्कुचित भएको प्रतिवेदनले औँल्याएको छ।
हिमनदी पग्लिँदा मात्रै गत वर्ष समुद्री सतह एक दशमलव दुई मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको उल्लेख छ। डब्लुएमओले विश्वभर जलस्रोतको अनुगमन र डाटा साझेदारी अझै सशक्त बनाउन आह्वान गरेको छ। खडेरी, बाढी र हिमनदी क्षतिसम्बन्धी जोखिम व्यवस्थापनका लागि जलस्रोत र हाइड्रोलोजिकल चरम बुझ्न र नाप्न अपरिहार्य भएको प्रतिवेदनले जोड दिएको छ। रासस